बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड

काठमाडौँ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ । उक्त डिजिटल बोर्ड नियम विपरीत भएको भन्दै महानगरले हटाउन पटक पटक आग्रह गर्दा पनि सेन्टरले बन्द नगरेपछि बिहीबार महानगरपालिकाको टोली आफैं गएर बोर्ड बन्द गराएको हो ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्‍न पाइ छ । उक्त बोर्डले १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको छ । यस्तै बोर्डले भवनको झ्याल समेत छेकेको नगर प्रमुख पाण्डेले बताए ।