डेङ्गु रोकथाममा ध्यान दिन सरकारसँग माग

काठमाडौँ । आजको राष्ट्रियसभाको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेको छ । बैठकमा सांसद सुरेश आले मगरले काठमाडौँ उपत्यकामा समेत दैनिक डेङ्गु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेका छन् ।

सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग अवस्था कमजोर भएको उल्लेख गर्दै तुलसीपुर – कपुरकोट सडकखण्ड कन्तबिजोग बनेको बताए । सांसद तुलप्रसाद विश्वकर्माले भेटेरेनरी चिकित्सकबाहेकका अन्य भेटेरेनरी सेवामा लागेका जनशक्तिलाई समेट्ने भएकाले पशु स्वास्थ्य तथा पशु सेवा विधेयकलाई छिटो पारित गर्न आग्रह गरेका छन् ।

सांसद भुवनबहादुर सुनारले गाउँ–गाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ अघि बढेको सहकारी पछिल्लो समयमा बदनाम हुँदै गएकामा चिन्ता प्रकट गरे ।

सांसद मदनकुमारी शाहले कैलालीका पथैया, मोहना कान्द्र काँडा र कर्णाली नदीलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका हुन् । बैठकमा सांसद मोहम्मद खालिदले गत वर्ष सुक्खा मौसमका कारण पीडित किसानका लागि सरकारले घोषणा गरेको राहत सिरहाका किसानले अझै नपाएको गुनासो गरेका छन् ।