नेपाली फिल्म ‘राधा’ पुनः प्रदर्शन गर्ने तयारी

काठमाडौं । नेपाली कथानक चलचित्र ‘राधा’ पुनः प्रदर्शन हुने भएको छ । अपेक्षित सो नपाएको भन्दै प्रदर्शन भइरहेका बेला निर्माणपक्षले ‘विथ–ड्र’ गरेको ‘राधा’ पुनः प्रदर्शन गर्ने निर्माण पक्षको तयारी गरेका छन् ।

देशभर एकैपटक रिलिजभन्दा पनि क्षेत्रीयस्तरमा रिलिजको तयारी गरिएको निर्देशक सुवर्ण थापाले जानकारी दिएका हुन् । “हामी आफैँ आफ्नै अग्रसरतामा देशका विभिन्न ठाउँमा चलचित्र देखाउने कि भन्ने तयारीमा छौँ,” निर्देशक थापाले भने, “चलचित्र राम्रो हुँदाहुँदै र समीक्षकले समेत राम्रो भनिरहेका बेला सो नपाउँदा हामीले विथ–ड्र गरेका थियौँ । त्यसैले विभिन्न जिल्लामा गएर चलचित्र चलाउने सोचमा छौँ ।”

सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत, बुद्दि तामाङ, मेनुका प्रधानलगायत कलाकार मुख्य भूमिकामा देख्न सकिन्छ । राधा चलचित्र साउथ एसियन फिल्म फेस्टिभल र बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभलमा पनि छनोट भएको छ ।