राष्ट्रपतिद्धारा सेनाध्यक्ष जनलर पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित एक कार्यक्रममा पाण्डेलाई मानार्थ महारथी दर्जा प्रधान गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।

नवनियुक्त सेनाध्यक्ष पाण्डे मानार्थ महारथी दर्जा ग्रहण गर्नका लागि आइतबार ५ दिने औपचरिक भ्रमणमा नेपाल आएका हुन् । उक्त भ्रमणदलमा पाण्डेकी पत्नी अर्जना पाण्डेसहित ५ सदस्य टोली रहेको छ । सेनाध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए ।

नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्ष नेपाली सेनाको महारथी रहने परम्परा छ ।


नेपाली सेनाका अनुसार २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।

भारतीय सेनाध्यक्ष भने २०१७ सालमै नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएको सेनाले जानकारी दिएको छ । त्यही परम्पराअनुसार एक मुलुकका सेनाप्रमुख अर्को मुलुकको मानार्थ महारथी दर्जाबाट सम्मानित हुने परम्परा छ ।

नेपालका प्रधानसेनापति प्रभुराम शर्मा पनि अघिल्लो वर्षको भदौमा प्रधानसेनापतिमा नियुक्त भएलगत्तै भारत गएर भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएका थिए । यो परम्पराले पनि दुई देशबीचको सैनिक कूटनीति महत्त्वपूर्ण रहँदै आएको छ ।