नक्कली भ्याट बिल बनाएर १० करोड राजस्व छली गर्ने विरुद्ध मुद्दा दायर

काठमाडौं ।विगत केही वर्ष यता नक्कली भ्याज विल जारी गरी राजश्व छली गर्ने कार्यमा ठूला व्यापारीहरु सक्रिय देखिन्छन् । कानून हुँदा हुँदै पनि राजश्व अनुसन्धान विभागका उच्च अधिकारी र राजनीतिक दलका उच्च नेतृत्वकै साँठगाँठमा ठूला राजश्व छली गर्नेहरु उम्कँदै आईरहेका छन् । तर राजस्व अनुसन्धान विभागले नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक (भ्याट) जारी गरेर करोडौँ राजस्व छली गर्नेलाई पक्राउ गरी मुद्दा दायर गर्ने क्रममा पनि जारी छ । सोही क्रममा राजश्व अनुसन्धान विभागले ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो । उनीहरूविरुद्ध १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको विभागले जनाएको छ । विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिकरूपमा जानकारी दिएको हो ।

विभागका अनुसार उनीहरूले मूल्य अभिवृद्धि करतर्फ एक करोड ७१ लाख ३२ हजार एक सय ७० रूपैयाँ, आयकरतर्फ तीन करोड ७५ लाख १९ हजार एक सय ६८ रूपैयाँ गरी पाँच करोड ४६ लाख ५१ हजार तीन सय ३८ रूपैयाँ राजस्व छली गरेका थिए । विभागले बिगोको दोब्बरबराबरको सजायको मागदाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको सजायको माग गरेको छ ।