लोकगायक खत्रीको ‘उडी जाने जहाज’ सार्वजनिक

काठमाडौँ । लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । उनको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार उक्त गीत सार्वजनिक गरिएको हो ।

परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीतमा बालगायक सुप्रिम मल्ल ठकुरी र खत्री स्वयंले स्वर दिएका छन् । सो गीतमा रचना र सङ्गीत पनि गायक खत्रीकै छ । गीतको म्युजिक भिडियोमा कलाकार स्मारिका ढकाल, सरिन केसीसँगै गायक खत्रीको समेत अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतले सामाजिक यथार्थ चित्रण गरेको गायक खत्रीले बताए ।

प्रदेशमा रहेका बुवा दशैँमा घर आउने आशमा रहेका छोराको मनोभाव गीतमा मुखारित छ । मार्मिक सिर्जना र ग्रामीण परिवेश झल्काउने प्रस्तुतिका कारण गीत राम्रो बनेको स्रोता–दर्शकले प्रतिक्रिया दिएका छन् ।

लोकगायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘रिनै रिनको’, ‘दशैँ–तिहारसँगै मनाउँला’, ‘दशैँमा आउ प्यारा’लगायत दशैँ गीत सार्वजनिक भैसकेका छन् । दुई दशकदेखि सङ्गीतमा सक्रिय उनले दशैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आएका छन् । जनजीवनका भोगाइलाई जीवन्त ढङ्गले प्रस्तुत गर्न पोख्त सर्जक–गायक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’ लगायत गीत चर्चित छन् ।

ताजा अपडेट