कांग्रेसलाई १०० सिटमा झर्नै मुस्किल छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा सिट बाँडफाँटका विषयमा सहमति हुन बाँकी रहेको बताएका छन् । इकान्तिपुरसँग कुराकानी गर्दै महामन्त्री थापाले नेताहरूले सार्वजनिक अभिव्यक्ति दिएजस्तो कांग्रेसले १०० सिटभन्दा तल झरेर सहमति हुने अवस्था नरहेको बताए ।

मंगलबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले ८० र माओवादी केन्द्रले ६० वरपर सिटमा सहमति हुने बताएका थिए ।

कांग्रेस महामन्त्री थापाले भने कांग्रेसलाई १०० सिटमा झर्नै समस्या भइरहेको र ८० सिटमा झरेर चुनावी तालमेल गर्ने अवस्था नरहेको बताए ।

गठबन्धनमा अहिले कुनै सहमति भइसकेको छैन । हामी छलफलमै छौँ, छलफल निरन्तर छ । तर अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेका छैनौँ, उनले भने, कांग्रेसले कति सिट लिने भन्ने विषयमै हामी निष्कर्षमा पुगेका छैनौँ । अहिले करिब १२७ सिटमा कांग्रेसको दाबी छ, त्यो सिटलाई झारेर १०० सिटमा ल्याउनुपर्नेछ । त्यो नै भइसकेको छैन ।

उनले कांग्रेसले १०० वटा कुन कुन सिट लिने भन्ने विषयमा समेत पार्टीभित्र छलफल भइरहेको बताए । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ८० सिटमा पहिलो छौँ, र ७० वटा सिटमा दोस्रो छौँ, महामन्त्री थापाले भने, केही क्षेत्रमा मात्रै हामी तेस्रो छौँ । दोस्रो भएको ठाउँमा पनि स्वभाविकरुपमा साथीहरुको इच्छा छ, त्यसलाई पनि सम्बोधन गर्नुपर्ने अवस्था छ ।

उनले गठबन्धन दलले कांग्रेसलाई धम्क्याएर सिट संख्या कम गर्न सकिन्छ भनेर बुझ्नु गलत हुने बताए ।

कांग्रेसलाई धम्क्याएर सिट संख्या कम गर्न सकिन्छ भन्ने कसैलाई लाग्छ भने त्यो गलत हो । त्यसले कांग्रेसलाई त नोक्सान हुन्छ नैस गठबन्धनका कुनै पनि दलले त्यसबाट फाइदा उठाउन सक्ने अवस्था हुदैन, महामन्त्री थापाले भने, यदि त्यसरी मिल्ने होस सहमति जुट्ने हो भने पनि त्यसपछि कांग्रेसलाई कसले थेग्छ ?

उनले कांग्रेसको कार्यकर्ता, संगठन र मतदाताको मनोविज्ञान कस्तो हो ? त्यो गठबन्धन दलले बुझ्नुपर्ने बताए । कान्तिपुरबाट