पूर्वअध्यक्षविरुद्ध बहुविवाहको आरोपमा पक्राउ पुर्जी

काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध बहुविवाहको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते उजुरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पक्राउ पुर्जी जारी गरेको हो ।

११ दिनको फरकमा दुई विवाह गरेको प्रमाण फेला परेपछि महेशविरुद्ध पत्नी हिमालय राईले गत फागुनयता जाहेरी दिन प्रहरीकहाँ धाइरहेकी थिइन् । चैत ११ गते उनले महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी वृत्त महिला सेल कालीमाटी, महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र सोही कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलविरुद्ध उच्च अदालत पाटनमा रिट हालेकी थिइन् ।

साढे तीन महिनापछि असार २९ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले पीडितको रिटमा फैसला गर्दै ‘जाहेरी दर्ता गरी आवश्यक कारबाही गर्नू’ भनी विपक्षीहरूमा नाममा परमादेश जारी गर्‍यो । यसपछि मात्रै महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते बहुविवाहविरुद्धको उजुरी दर्ता गरेको हो । पक्राउ पुर्जी जारी भइसकेकाले तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न पीडित पक्षको माग छ ।