खरिदारले खोले सीडीओ र एसपीको घुसको पोल !

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काभ्रेका खरिदारले खोले सीडीओ र एसपीलाई पैसा खुवाएको पोल खोलेका छन् । उनले एक व्यक्तिसँग गरेको फोनमा यस्तो पोल खोलेका हुन् । 

काभ्रे जिल्लाको सबैभन्दा महँगो माला भनेर चिनिने फोईको बुद्धचित्त माला सीडीओ र एसपीलाई नमिलाई कसैले पनि टिप्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा कार्यरत खरिदारले आर्थिक लेनदेनको पोल खोलेका हुन् ।

प्राप्त अडियो रेकर्डमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत खरिदार विश्वराज मैनालीले सत्यमान लामा समूहका भीम तामाङले प्रजिअ र एसपीलाई पहिलो चरणमा १२ लाख बुझाएको बताएका छन् ।

अडियो रेकर्डमा मैनालीले अर्का एक व्यक्तिसँग (नाम गोप्य) कुरा गर्दै भनेका छन्, ‘भीमले सीडीओ सा’ब र एसपीलाई १२ लाख बुझाएको छ । त्यसरी बुझाएको पैसा माला टिप्न नपाए पनि फिर्ता माग्ने हिम्मत कसको हुन्छ ?’

जिल्ला प्रशासन कार्यालयका खरिदारले आफ्नो नाम बेचेर मोलतोल गरेको बारे छानविन गर्ने प्रजिअ कृष्णबहादुर राउतले बताएका छन् ।

कुरा गर्दै राउतले भने, ‘मैले र एसपी सापले बार्गेनिङ गरेको कुरा गलत हो, त्यसरी हाम्रो नाममा आर्थिक मोलतोल गर्ने खरिदारबारे छानबिन गरेर कारवाही गर्छौं ।’

(खरिदार मैनालीले गरेको अडियो कुराकानी अर्का व्यक्ति (जोसँग कुरा गरिएको थियो) को आग्रहमा गोप्य राखेका छौं– सम्पादक) 

यसरी आयो १२ लाखको काण्ड

गुण्डा नाइके दावा लामा समूहका सत्यमान लामाले काभ्रेको रोशी गाउँपालिका–३ फोईमा रहेको किसानको माला जबर्जस्ती कब्जा गरेका छन् ।

स्थानीय ८६ वर्षीया माइली तामाङको स्वामित्वमा रहेको उक्त बुद्धचित्त माला दावा समूहका सत्यमान लामाले किसानसँगको अनुमतिविनै टिपेको स्थानीयहरूले बताएका छन् ।

छिमेकी मुलुक चीनतर्फ महँगो मूल्यमा निर्यात हुने उक्त बुद्धचित्त माला किसानको सहमतिविना टिप्ने कार्यमा काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र प्रहरी उपरीक्षक (एसपी) रविराज खड्काले सहयोग गरेको आरोप लागेको छ ।

अदालतले किसानको सहमती बेगर माला नटिप्न अन्तरिम आदेश दिएको थियो ।

सीडीओ र एसपीसँगको मिलेमतोमा प्रहरी परिचालन गरेर शनिबार सत्यमान लामाको समूह माला टिप्न पुगेको बताइएको छ । तर किशानले हारगुहार गरेपछि गाउँलेहरूले विरोध प्रदर्शन गरेसँगै करिब ७ किलो माला टिपेपछि प्रहरीले उक्त माला टिप्न रोक लगाएको थियो ।

आइतबार दिनभर धुलिखेलमा मालाको बैना गर्ने पक्षहरूबीच छलफल भए पनि मालाधनी माइली तामाङले आफूले तीर्थ लामासँग बैना रकम लिएको र उनैलाई माला दिने बताएकी थिइन् । तर प्रमुख जिल्ला अधिकारी राउतले सत्यमानलाई नै माला दिन दबाब दिएको आरोप छ ।

माला फल्नुअघि नै तिमाल गाउँपालिका–९ का भीम तामाङले माइली तामाङसँग कागज गरेका थिए । भीमले कागज मात्रै गरेको तर पैसा नदिएको भन्दै माइलीले अर्का माला कारोबारी तीर्थ लामाबाट १७ लाख बैना लिएपछि विवाद सुरु भएको थियो । – रातोपाटी