झापामा सुनका गरगहना र मोबाइल चोर्ने दुई पक्राउ

काठमाडौँ । झापाको सदरमुकाम भद्रपुरमा सुनका गरगहना र मोबाइल चोरी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका १० निवासी २२ वर्षीय रितिककुमार शर्मा र भद्रपुर ७ निवासी रोशन राजवंशी रहेका छन् ।

उनीहरूको साथबाट रेडमी कम्पनीको एउटा मोबाइल, सुनको चुरा २ टुक्रा, सुनको पञ्चरत्न २ टुक्रा, सुनको ब्रास्लेट एउटा, कानमा लगाउने सुनको रामलीला २ थान र सुनको चन्द्रमा २ टुक्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिएका छन् ।

गत भदौ १ गते दिउँसो अन्दाजी साढे ४ बजेको समयमा भद्रपुर ७ स्थित विषम टोल निवासी राजेन्द्र गिरीको घरबाट कोही नभएको मौका छोपी दराजमा राखेको सुनका गरगहना, मोबाइल तथा नगद गरी अन्दाजी १० लाख रुपैयाँ बराबरको चोरी भएको प्रहरीले बताएका छन् ।

घरमा चोरी भएपछि तत्काल गिरीले प्रहरी कार्यालय झापामा उजुरी दिएका थिए । चोर खोज्ने क्रममा प्रहरीले शर्मा र राजवंशीलाई चोरी गरिएका दसी प्रमाणसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान अघि बढाएको छ ।