काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र आउने पर्यटकलाई बिनाटिकट प्रवेश गराउने पथप्रदर्शक र होटल व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएको छ ।
पथप्रदर्शक र होटल व्यवसायीको मिलेमतोमा बिनाटिकट पर्यटक छिराएको तथ्य फेला परेपछि बौद्धनाथ क्षेत्र विकास समितिले कारबाहीको दायरामा ल्याउन लागेको हो । कारबाहीका लागि पहिलो चरणमा चुच्चेपाटीबाट जोरपाटी क्षेत्रमा रहेका होटलको सूची तयार पार्न थालिएको समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले जानकारी दिएका छन् ।
समितिको टिकट काउन्टर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने गरेको छ । होटलमा आउने पर्यटक ५ बजे आएर राति बस्ने बिहान बौद्धनाथ क्षेत्रमा छिर्दा टिकट नलिने गरेको पाइएको समितिको भनाइ छ । होटल व्यवसायी, पथप्रदर्शक र टिकट काउन्टरमा खटिने कर्मचारीको मिलेमतोमा समेत टिकट नलिएका पर्यटकलाई बौद्धनाथ क्षेत्रमा प्रवेश गराउने गरिएको छ ।
होटल, पथप्रदर्शक र टिकट काउन्टरका कर्मचारीको निगरानी गरी सुरक्षाकर्मीले जाँच गरेका बेला पर्यटकसँग टिकट माग्दा नपाएमा पथप्रदर्शक र पर्यटक बस्ने होटललाई कारबाहीको दायरामा ल्याउनका लागि पहिलो चरणमा होटल व्यवसयायीसँग समितिले छलफलसमेत गरेको छ ।
समितिले सार्क मुलुकका पर्यटकसँग १ सय र सार्क बाहिरका पर्यटकसँग ४ सय शुल्क लिने गरेको छ । बौद्ध क्षेत्रमा मासिक हजारौँ पर्यटक अवलोकनका लागि आउने गरेका छन् ।
Add Comment