सुदूरपश्चिमबाट सात सय खेलाडी सहभागी हुँदै

काठमाडौँ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ७ सय बढी खेलाडी सहभागी हुने भएका छन् ।

नवौँ राष्ट्रिय खेलकुदमा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिमले भाग लिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले जानकारी दिएका छन् । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा खेलाडी छनोटका लागि १ हजार दुई ८३ पुरूष र ८ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यीमध्येबाट सात सय नौ खेलाडी सो प्रतियोगितामा भाग लिनका लागि छनोट हुने भएको छ । त्यसमध्ये एक सय ९४ खेलाडी सोझै छनोट हुने भएका छन् । सो प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीबाट आवेदन माग गरिएको थियो ।

आवेदन दिएकामध्येबाट विभिन्न खेलका लागि आवश्यक सङ्ख्यामा खेलाडी छनोटको काम आगामी सातादेखि हुने सुदूरपश्चिम खेलकुद परिषद्ले जानकारी दिएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट अन्तर्राष्ट्रिय र स्थानीय रेफ्री तथा निर्णायक गरी चार सय ७२ खेल पदाधिकारी सहभागी हुने भएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट १ हजार ४ सय ८१ जनाको टोली गण्डकी प्रस्थान गर्ने बताइएको छ । प्रदेश खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दैनिक रु दुई हजारका दरले भत्ताको व्यवस्था गरिएको सदस्यसचिव सिंहले बताए ।

प्रदेश सरकारको बजेटबाट परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेल सकिएको भोलिपल्टसम्म दैनिक रु २ हजारका दरले भत्ता दिने व्यवस्था गरिएको उनको भनाइ छ ।