‘मंसिरको चुनावले लोकतन्त्रप्रति जनविश्वास बढाउँछ’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरमा हुने आम निर्वाचनबाट शक्तिको शान्तिपूर्ण हस्तान्तरण सुनिश्चित हुने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा सुरु ‘कान्तिपुर कन्क्लेभ’ को तेस्रो संस्करणलाई शनिबार सम्बोधन गर्दै देउवाले आगामी चुनावले लोकतन्त्रप्रति जनताको विश्वास बढाउने जनाएका छन् ।

‘मुलुक अब मंसिरमा हुने प्रदेशसभा र संसदीय निर्वाचनको तयारीमा छ । यो आवधिक चुनाव मात्र होइन । बरु, शक्तिको शान्तिपूर्ण हस्तान्तरण सुनिश्चित गर्ने हाम्रो क्षमताको प्रमाण हो,’ उनले भने, ‘यसले कानुनको शासनलाई बलियो बनाउँछ ।’

‘बियोन्ड एक्सपेक्टेसन स् बियोन्ड बाउन्ड्रिज’ शीर्षकको दुईदिने कन्क्लेभको आरम्भ सत्रमा प्रधानमन्त्री देउवा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । देशको अर्थतन्त्रमा पछिल्लो समय देखिएको चुनौतीलाई समझदार मौद्रिक र वित्तीय नीतिद्वारा समाधान गर्न सक्षम भएको उनले बताए । ‘उपभोग्य वस्तुको मागमा भएको वृद्धि, बढ्दो मुद्रास्फीति र विदेशी मुद्रा सञ्चितिमा भएको दबाब हाम्रा लागि केही डरलाग्दा चुनौती थिए,’ उनले भने, ‘हामीले यी समस्याहरूलाई समझदार मौद्रिक र वित्तीय नीतिद्वारा समाधान गर्न सक्षम भएका छौं । पछिल्ला केही महिनामा कुराहरू उल्टो हुन थालेका छन् । रेमिट्यान्सको बढ्दो प्रवाह र पर्यटक आगमन बढ्दै गएकाले आगामी दिनमा आर्थिक स्थितिमा सुधार आउने अपेक्षा गरेका छौं ।’

प्रधानमन्त्री देउवाले गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, खाद्य सुरक्षा र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न अत्यावश्यक क्षेत्रको लगानीलाई निरन्तरता दिनुपर्ने बताए । ‘हामीले पूर्वाधार र यातायात सञ्जाललाई आधुनिकीकरण गर्न र व्यापार घाटा कम गर्न ठोस प्रयास गर्नु आवश्यक छ,’ उनले भने । उनले जलवायु परिवर्तनसँग लड्न र स्थानीय कमजोरीलाई सम्बोधन गरिएको सुनिश्चित गर्न स्थानीय अनुकूलन योजना लागू गरेको जनाए । उनले सन् २०४५ सम्ममा शून्य उत्सर्जन परिदृश्यमा पुग्ने राष्ट्रिय प्रतिबद्धता रहेको बताए । ‘मैले गत वर्ष ग्लास्गोमा भएको कोप–२६ मा अन्तर्राष्ट्रिय समुदायसँग यो कुरा राखेको थिएँ,’ उनले भने ।

कार्यक्रममा भारतका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्वविदेश सचिव शिवशंकर मेननले दक्षिण एसिया पनि विश्वव्यापी आर्थिक मन्दी र महामारीबाट प्रभावित भएको बताए । ‘हाम्रा अर्थतन्त्रहरू विश्वव्यापी आर्थिक मन्दी, ठूला अर्थतन्त्रहरूमा आउन सक्ने संकुचन, महामारी, विप्रेषण तथा पर्यटनमा आएको गिरावट, वस्तुको मूल्यमा भएको अस्थिरता र निर्यातजन्य आम्दानीमा आएको कमीबाट ग्रसित छन्,’ उनले भने, ‘दक्षिण एसियामा मात्रै यस्तो भएको होइन । हामी हाम्रो आर्थिक समस्यामा एक्लै छैनौं । आईएमएफ भन्छ– ५३ विकासशील देशहरू ऋण संकटको गम्भीर जोखिममा छन् ।’

मेननले पछिल्लो समय दक्षिण एसिया वैश्विक भूराजनीतिकको केन्द्र बनेको उल्लेख गर्दै यसलाई अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । ‘आज दक्षिण एसिया विश्वव्यापी भूराजनीतिको केन्द्रमा छ, हामीसँग लिने सामर्थ्य छ भने यसले हाम्रा लागि अवसर सिर्जना गर्छ,’ उनले भने, ‘संसार अहिले संयुक्त राज्य अमेरिका वा पश्चिमी नेतृत्वको दोस्रो महायुद्धपछिको विश्वव्यवस्थाको संक्रमणमा छ । यसलाई हामी धमिलो सिसाबाट मात्र देख्न सक्छौं, जसको प्रकृति निर्धारण हुन बाँकी नै छ ।’ मेननले नेपाल दक्षिण एसियामा जलविद्युत् शक्तिका रूपमा उदाउन सक्ने बताए । ‘अर्को अवसर ऊर्जामा छ, जहाँ दक्षिण एसिया लामो समयदेखि आयातकर्ताका रूपमा छ, तैपनि हामी हरियाली र थप दिगो भविष्यतर्फ लम्किँदै गर्दा ऊर्जा प्रविधि र ऊर्जाको अर्थशास्त्रमा हुने क्रान्तिकारी परिवर्तनका कारण दक्षिण एसियामा नयाँ अवसरहरू छन्,’ मेननले भने, ‘यो महत्त्वपूर्ण घुम्तीमा, नेपालले हामीलाई यस क्षेत्रका लागि जलविद्युत् शक्तिको प्रमुख स्रोतका रूपमा आफ्नो सम्भावना देखाउँदै छ ।’

पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका पनि वायु ऊर्जाका लागि त्यस्तै सम्भावित देश हुने उनले बताए । ‘सौर्य ऊर्जा अर्को स्रोत हो, जसमा हामी सबै लाभान्वित छौं, विगतको हिचकिचाहट र काँतरपनलाई हामीले हटाउन सके नवीकरणीय ऊर्जाले सीमापार सहयोगका अवसरहरू खोल्छ,’ उनले भने ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपालमा आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्न सक्ने दूरदृष्टि रहेको नेताको अभाव भएको बताए । राजनीति, सुशासन, निर्वाचन प्रणाली तथा त्यसको स्वच्छताका बारेमा आफ्नो धारणा राखेका पोखरेलले नेपालले अहिलेसम्म राजनीतिज्ञ मात्र पायो, आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्न सक्ने दूरदृष्टि भएको नेता नपाएको बताए । भने, ‘भनाइ नै छ नि– राजनीतिज्ञले अर्को चुनाव हेर्छ, नेताले अर्को पिढीबारे सोच्छ ।’

उनले संसद्, न्यायपालिका, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, मिडियाजस्ता प्रजातन्त्रको प्रमुख खम्बाको दक्षता, क्षमता, प्रभावकारिता र साखमा नै प्रजातन्त्रको भविष्य रहने बताए । ‘तिनीहरूको सकारात्मक र प्रभावकारी सन्तुलन तथा नियन्त्रणको सशक्त भूमिकाबाट मात्र प्रजातन्त्र फस्टाउन सक्छ,’ उनले भने, ‘स्थापित संस्था, प्रणाली र प्रक्रियाप्रति नागरिकको विश्वास प्रजातान्त्रिक शासनको अर्को सर्त हो ।’

निर्वाचनलाई प्रजातन्त्रको मेरुदण्डका रूपमा चित्रण गर्दै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले नेपालमा पछिल्लो तीन दशकमा सफलतापूर्वक निर्वाचनहरू सम्पन्न हुँदै आएको र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गरेको अभ्यास उदाहरणीय भएको बताए । नेपालको जस्तै अवस्थाका देशहरूमा सितिमिति यस्तो अभ्यास नदेखिएको उनको धारणा छ । ‘पछिल्ला दशकमा संस्थाहरूको अति राजनीतीकरण र दलहरूको अनियन्त्रित हस्तक्षेप यो देशको दुर्भाग्यका रूपमा रहेका छन्,’ उनले भने ।

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा सुधार गर्नुपर्ने ५ वटा क्षेत्र औंल्याए । सुधारका क्षेत्रबारे औंल्याउँदै पोखरेलले भने, ‘कानुनद्वारा नै सुनिश्चित गरिएको निर्वाचनको मिति, पार्टीका उम्मेदवारहरू प्राइमरी निर्वाचनबाट छानिने विधि र कम खर्चिलो बनाउँदै निर्वाचन व्यवस्थापनलाई पूर्णरूपमा विकेन्द्रीकरण गर्नुपर्छ । कुनै पनि प्रकारको धम्की वा व्यक्तिगत लाभबिना मतदाताले आफूलाई मन लागेको उम्मेदवारलाई भोट हाल्न सक्ने अवस्था बन्नुपर्छ । जहाँ मतपेटिकाको सुरक्षाका लागि बन्दुकको आवश्यकता नै नपरोस् । साथै संसारको जुनसुकै कुनाबाट पनि मतदाताले उपयुक्त प्रविधिको प्रयोग गरी भोट हाल्न पाउने अवस्थाको सुनिश्चितता गर्न आवश्यक छ ।’

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले लामो शासकीय अस्थिरता भोगेको नेपाल एकपछि अर्को राजनीतिक र सामाजिक संक्रमणबाट गुज्रिरहेको बताए । अध्यक्ष सिरोहियाले नयाँ संवैधानिक व्यवस्था कायम गरेयता नेपाल अब दोस्रो संघीय र प्रादेशिक निर्वाचनको संघारमा रहेको र यो लोकतान्त्रिक अभ्यासलाई दह्रो बनाउने र नेपालमा अभिशापका रूपमा रहेको निरन्तरको अस्थिरतालाई अन्त्य गर्ने अवसर रहेको बताए ।

कान्तिपुर कन्क्लेभले आसन्न संकटहरूबारे बुझ्ने, बुझाउने र त्यसलाई पार लगाउने उपायहरू पहिल्याउन सघाउmने र मुलुकमा भइरहेका सकारात्मक पहल एवं उत्प्रेरणाका प्रेरणादायी दृष्टान्तहरूलाई सार्वजनिक बहसमा ल्याउन कोसिस गर्ने उनले विश्वास व्यक्त गरे ।

काठमाडौंको बौद्धस्थित हयात रिजेन्सी होटलमा भएको कन्क्लेभको पहिलो दिन उद्घाटनसहित चारवटा सत्र सञ्चालन भए । जसमा आर्थिक र सामाजिक उन्नति तथा रूपान्तरणका विविध विषयमा देशभित्र र बाहिरका विज्ञहरूबीच सघन विमर्श गरिएको छ । ‘जलवायु परिवर्तन’, ‘डिजिटल रूपान्तरण’, ‘अन्तर्देशीय ऊर्जा प्रसारण तथा व्यापार’, ‘नेपाल र विश्व’ तथा ‘विश्व समुदायमा नेपालको सफ्ट पावर’ विषयमा बहस भएको थियो ।

विदेशी वक्ताहरू पनि सहभागी भएकाले शनिबार पहिलो दिनका सबै सत्र अंग्रेजी भाषामा सञ्चालन भएको थियो । आइतबार दोस्रो दिनका सबैजसो सत्र भने नेपाली भाषामा हुनेछन् । ‘भूराजनीति र अर्थ कूटनीति’ शीर्षकको आरम्भ सत्रमा विकास अर्थशास्त्री महेन्द्र पी लामा र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले बहस गर्नेछन् । त्यसपछि ‘सार्वजनिक संवादको शैली’, ‘आयात निषेध कि निर्यात वृद्धि रु’, ‘संगीतको सिमाना’ र ‘नेतृत्वमा महिला, अब पहिला’ शीर्षकमा पालैपालो बहस हुनेछ ।

‘नीति, थिति र राजनीति’ शीर्षकको अन्तिम तथा समापन सत्रमा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनेछन् । सन् २०१९ मा सुरु भएको ‘कान्तिपुर कन्क्लेभ’ को दोस्रो संस्करण २०२० मा भएको थियो । महामारीले स्थगन भएको कन्क्लेभको चालु तेस्रो संस्करण बृहत् र थप प्रभावकारी हुने केएमजीले जनाएको छ । ‘नेपाल र नेपालीलाई विश्व समुदायसँग जोड्ने उद्देश्यले कान्तिपुर कन्क्लेभ सुरु गरिएको हो,’ केएमजी व्यवस्थापनले भनेको छ । कान्तिपुरपोष्टबाट

ताजा अपडेट