तनहुँमा ४ करोड ४२ लाख राजश्व सङ्कलन

काठमाडौँ । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा ४ करोड ४२ लाख राजश्व सङ्कलन भएको छ ।

सो आवमा जिल्लाबाट ६ हजार ६ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिएका छन् । त्यस्तै ८ हजार ८ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने ८ सय ७२ दु्रत सेवाका लागि सिफारिस गरिएको छ ।

कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट ४ करोड ८० लाख राजश्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरीवाना, प्रशासनिक दण्ड, जरीवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजश्व सङ्कलन गरेको हो ।

संस्था दर्ताबाट रु ११ हजार ६५ हजार ५ सय ९५, हातहतियार नवीकरणबाट ४ लाख ८ हजार ३ सय २५, न्यायिक दण्ड जरीवानाबाट रु २२ हजार १७ हजार ८ सय ५०, प्रशासनिक दण्ड, जरीवाना र जफतबाट रु ५० हजार राजश्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ ।

सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ । दुई हजार चार सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार आठ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ । 

कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा सात सय ८५ संस्थाको नवीकरण भएको छ । ९९ हातहतियार नवीकरण भएकामा छ वटा नामसारी गरिएको छ । यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयको भनाइ छ ।