‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’ : ली चान्शु

काठमाडौँ । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् ।

अध्यक्ष लीसहित उनको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाले उनको स्वागतमा दरबार स्क्वायरको डबलीमा प्रदर्शन गरेको ऐतिहासिक भैरब प्याँख नाचको अवलोकन गरेका थिए । अध्यक्ष लीले यो नाचले चिनियाँ संस्कृति सम्झाएको भन्दै चीन र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको बताएका छन् ।

बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुगेका अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत नगर कार्यपालिकाका सदस्यहरुले स्वागत गरेका थिए । 

उनले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गरेका थिए । पच्पन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उनले यहाँका सम्पदाहरुमा भूकम्पले पु¥याएको क्षतिबारे पनि जानकारी लिएका छन् । 

अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरुमा भूकम्पले पु¥याएको क्षतिबारे जानकारी गराएका छन् । भक्तपुरका भूकम्पले क्षति पु¥याएको ८० प्रतिशत सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराएको थियो ।

अध्यक्ष लीले पाँचतले मन्दिरमा भूकम्पले क्षति नपु¥याउने गरी बलियोसँग कसरी बन्यो होला भन्ने जिज्ञासासमेत राखेको प्रमुख लासिवाले जानकारी दिए ।

पाँचतले मन्दिर र सँगैको भैरब मन्दिरको बनावट, निर्माणमा परम्परागत सामग्रीको प्रयोग तथा यहाँका पुराना वास्तुविद्को योजनाअनुसार निर्माण भएकाले क्षति नपुगेको प्रमुख लासिवाले जानकारी गराएका थिए । 
जात्रा, पर्व, नाचहरुका बारेमा जानकारी लिएपछि अध्यक्ष लीले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताउँदै विश्वका विभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुमा समानता रहेकोसमेत बताए ।

पाँचतले मन्दिरको अवलोकनपछि बिदाइका क्रममा हेर्न बसेका स्थानीयलाई अध्यक्ष लीले नेपाली भाषामै नमस्ते भनेर सम्बोधन गरे । बिदाइका क्रममा अध्यक्ष लीसहितको प्रतिनिधिमण्डललाई नगरपालिकाका तर्फबाट मयूर झ्याल, नगरपालिकाका विभिन्न प्रकाशनहरु प्रदान गरिएको थियो । कोभिड–१९ को सङ्क्रमणलाई ध्यान दिँदै नगरपालिकाले ती उपहारहरु हातमा नदिई एकमुष्ट प्रदान गरिएको थियो ।

अध्यक्ष लीले आजै अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि उहाँले मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले मङ्गलबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार विशेष विमानबाट नेपाल आएका उनले सोही दिन सभामुख सापकोटासँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गरी सहयोगसम्बन्धी छुटदै सम्झौतापत्रमा हस्ताक्षर गरेको  थियो ।


अध्यक्ष ली नेतृत्वमा छजना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ ।