काभ्रेमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

काठमाडौँ । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा अबिरल वर्षासँगै गएको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बिहीबार बिहान करिब दुई बजे आएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उनका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्सिया छोरी सावित्री तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले ठुलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पताल बनेपा र निर बहादुर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको बताए । उनले पहिरोका कारण ठुलीमायाँको घरमा रहेका केहि बाख्रा समेत पुरिएको बताएका छन् ।

पहिरोले घरसँगै रहेको चलालगणेशस्थान रोडा ढुङ्गा खानीका दुई वटा एक्स्काभेटर समेत परिएको प्रहरी उपरीक्षक जोशीले बताए । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा निरबहादुर र सावित्रीको शव निकालिएको हो ।

वडा अध्यक्ष कृष्णबहादुर तामाङले घरसँगै रहेको ढुङ्गा खानीमा दिउँसो एक्स्काभेटर लगाएर ढुङ्गा निकाल्ने काम गरिएको र राती परेको पानीका कारण जमिन गलेर खानीसँगै रहेको घरको माथिबाट पहिरो आएको बताएका छन् । खानीकै कारण पहिरो गई तामाङको परिवारको मृत्यु भएका बताएका छन् ।