अरुण तेस्रो प्रसारण लाइन अझै निर्माण हुन सकेन

काठमाडौँ । चार सय केभी क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा विवाद भएपछि सङ्खुवासभामा प्रसारण लाइन निर्माण हुन सकेको छैन ।

प्रसारण लाइन विस्तार हुने सात जिल्लामध्ये छ जिल्लामा मुआब्जा वितरण गरी काम सुरु भइसके पनि सङ्खुवासभामा प्रसारण लाइन निर्माणमा विवादका कारण काम सुरु हुन सकेको छैन् ।

सङ्खुवासभामा प्रसारण लाइन निर्माण क्षेत्र निर्धारण गर्दा आफूहरू विस्थापित हुनुपरेको स्थानीयवासीको गुनासो छ । पावर हाउस निर्माण स्थल पुखुवा दोभानबाट तार घुमाएर गाउँको बीच भागबाट प्रसारण लाइन निर्माण गरिँदा खेतीयोग्य जमिन मासिएको र जनजीवन जोखिममा रहेको स्थानीयवासीको गुनासो हो ।

आयोजनाले खेतीयोग्य जमिनको साटो छोटो दूरीसमेत रहेको जङ्गल क्षेत्रबाट प्रसारण लाइन निर्माण गर्न चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले सुझाव दिए । कतिपय ठाउँमा पहिले निर्धारण गरिएकोदेखि ‘एलाइनमेन्ट’ परिवर्तन गरिएको बताइएको छ ।

चिचिला गाउँपालिका–३, पुखुवामा निर्माण भइरहेको विद्युत्गृहबाट खाँदबारी नगरपालिका–१०, आङ्ला गाउँ हुँदै सिधै भोजपुर तार्न सकिने नजिकको मार्ग हुँदाहुँदै गाउँबस्तीमा प्रसारण लाइन घुमाएको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । अहिले तय गरिएको मार्गबाट प्रसारण लाइन निर्माण गरे छ्याङ्कुटीडाँडा र ठूलो ढुङ्गा पर्यटन क्षेत्रमा असर पुग्ने खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङको दाबी छ ।

सङ्खुवासभामा ५९ वटा टावर राखिने र १८.९३ किलोमिटर तार टाँग्नुपर्ने इन्जिनियर गौतमले जानकारी दिए । यसका लागि ८० रोपनी जग्गा आवश्यक पर्ने उनको भनाइ छ । गाउँपालिकादेखि महोत्तरीको ढल्केबरसम्म निर्माण गरिने यो प्रसारण लाइनका लागि अरू सबै जिल्लामा मुआब्जासमेत उपलब्ध गराएर धमाधम काम भइरहेको छ ।

छोटो दूरी हुने जङ्गल क्षेत्रबाट नभई गाउँबस्तीबाट नै प्रसारण लाइन विस्तार गर्नुको कारण र गाउँबाट प्रसारण लाइन विस्तार गर्दा जनस्वास्थ्य र जीविकोपार्जनमा पर्ने दीर्घकालीन असरबारे प्रष्ट पार्न स्थानीयवासीको माग छ ।