हेलिकोप्टरद्धारा खोलामा फसेका शिक्षकको उद्धार

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटी जीवितै फेला परेका छन् । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् डीएसपी दक्षकुमार बस्नेतले शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको लागि हेलिकोप्टर झिकाइएको जानकारी दिए । डीएसपी बस्नेतले भने, ठाउँ अप्ठ्यारो भएकाले उद्धारका लागि हेलिकोप्टर नै प्रयोग गर्नुपर्ने देखियो, हामीले हेलिकोप्टर झिकाइसकेका छौं ।

गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भीरबाट सिवाकोटीको आवाज आएको र उनको उद्धारको लागि जुटिसकेको जानकारी दिए । सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका सिवाकोटीको सकुशल उद्धार गरिएको छ ।