अभिनेता शाहको मुद्दा सुनुवाइ स्थगित

काठमाडौँ । अभिनेता पल शाहको मुद्दा सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाइ हुने भनिएको थियो । तर त्यस दिन न्यायाधीश दल बहादुर केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।

चिट्टा थुत्ने क्रममा जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना घर बिदामा भएको कारण मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार मिति तोक्न बाँकी रहेकोले दशैंपछि सुनुवाइ हुने सम्भावना रहेको बताए ।

कलाकार शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले उनलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको छ ।