बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर सडक सञ्चालन

काठमाडौँ । सिन्धुपाल्चाकको मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर सडक सञ्चालन गरिन लागिएको छ ।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले चाडपर्व नजिकिएपछि आवतजावत गर्न सहजताका लागि नदीमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्न काम थालिएको जानकारी दिएको छ । अहिले ह्युमपाइप राखिने काम धमाधम थालिएको छ । त्यसैसरि इन्द्रावती नदीमा पनि ह्युम पाइप राखेर सडक सञ्चालन गर्ने उनले बताए ।

ह्युमपाइप राखेर सडक सञ्चालन भएपछि दुवा चौर, केउरनी, बरुवा, शेर्माथान आउजाउमा सहज हुने र मेलम्ची तिपेनी भोताङका साथै सदरमुकाम पुग्ने चौतारा नवलपुर सडकमा सहजै आउजाउ गर्न सकिने मेयर तामाङको भनाइ छ ।