बत्तीसपुतलीमा कोइराला पक्षको चियापान कार्यक्रम

काठमाडौँ । दसैंको अवसरमा नेपाली कांग्रेसको शेखर कोइराला पक्षले चियापान कार्यक्रम आयोजना गरेको छ । बिहीबार विहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित चियापान कार्यक्रममा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतकाका नेता उपस्थित थिए ।

नेपाली कांग्रेस खबरदारी अभियानको ब्यानरमा गरिएको चियापान कार्यक्रममा शुभकामना आदानप्रदानभन्दा पनि टिकटको चर्चा बढी भएको थियो ।

बुधबार दिउँसो नेता कोइराला, महामन्त्री थापा र सह (महामन्त्री बद्री पाण्डेले खबरदारी अभियानको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरे, जगदीश्वरनर​सिंह केसी, भुपेन्द्रजंग शाहीसँग भेटवार्ता गरेका थिए ।

समान अवसर र न्यायका लागि खबरदारी अभियानमा सहभागी नभएका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता चन्द्र भण्डारी, सञ्जय गौतम लगायत सहभागी भएका छन् ।

कोइराला समूहले समानुपातिकतर्फको बन्द सूचीमा आफ्नो समूहका नेताहरूको नाम समावेश नगरिएको, गरिएकाहरूको नाम पनि निर्वाचित हुने गरी समावेश नगरिएको र सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा आफ्नो समूहका नेताहरूको मात्रै नाम राखेको आरोप लगाउँदै आएको छ । कोइराला पक्षले समानुपातिक बन्दसूची सच्याउनुपर्ने र प्रत्यक्षमा न्यायोचित भाग पाउनुपर्ने माग गरिरहेको छ ।