ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा स्थानीय रामा मण्डलको श्रीमती ४५ वर्षीया जिवछी देवी मण्डल मृत अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनाको अनुसन्धान गर्दै जाँदा श्रीमानले नै श्रीमतीको हत्या गरेको खुलेको छ । घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार क्रिया बसेको मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

मृतक जिवछीको दुई छोरा रहेकोमा जेठो छोरा २२ वर्षीय विनय मण्डल र कान्छो छोरा २० वर्षीय संजय मण्डल बैदिशक रोजगारीका लागि कतारमा छन् । कान्छो छोरा हालसम्म बैदेशिक रोजगारीमै रहेको र जेठो छोरा १ वर्ष अगाडि ३ वर्ष विदेशमा बसेर आएका थिए । बैदेशिक रोजगारीका लागि लिएको ऋणका विषयलाई लिएर श्रीमान श्रीमतीबीच विवाद हुँदा हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनले ३ वर्षमा कमाएको करिब १८, २० लाख रुपैयाँ, दाइजोमा पाएको मोटरसाइकल तथा श्रीमतीको गरगहना बेचेर ऋण तिरेका थिए भने कान्छो छोराले मृतक आमाको नाममा रुपैयाँ पठाइ बाँकी रहेको ऋण तिर्न सहयोग नगरेको विषयलाई लिएर घर परिवारमा झै–झगडा हुँदै आएको थियो ।

जिवछीको हत्या भएको दिन उनी बिहानको समयमा तगारोमा गोबर लिएर खेतबारीमा गएकी थिइन् । उनको श्रीमान रामा मण्डल समेत कोदालो र हँसिया लिएर भकारी बनाउनको लागि बाँसको टाटी काट्न घट्नास्थलमा पुगेका थिए । जिवछीको हत्या हुनुभन्दा करिब १०, ११ दिनअघि दुबै छोरा छुटेका थिए । जेठो छोरा एक्लै र कान्छो छोरासँग बुबा र आमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार मृतकको टाउको फुटी डिलबाट भुँइमा लडेर छटपटिन थाले पछि पुनः टाउकोमा हिर्काइ हत्या गरेका थिए । ऋणको विषयलाई लिएर नै श्रीमान श्रीमतीबीच विवाद हुँदा श्रीमतीले श्रीमानलाई गाली गरेको निहुँमा श्रीमतीको टाउकोमा कोदालोको पछाडिको बिटले हिर्काएका थिए । अनुसन्धान गर्दै जाँदा श्रीमानकै संलग्नता रहेको खुलेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।