अधिकांश सरकारी कार्यालय सुनसान

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ ।

दसैँ को बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोशाकमा समयमै आइपुगे/नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका समस्याका बारेमा जानकारी लिन सोमबार आकस्मिक निरीक्षण गरिएको प्रशासकीय अधिकृत प्रनिसा घिसिङले जानकारी दिए ।

उनका अनुसार निरीक्षणका क्रममा दसैँ बिदा सकिए पनि कर्मचारी कार्यालयमा नआएको पाइएको छ । विभिन्न १० कार्यालयमा सात कार्यालय प्रमुखसहित ४९ कर्मचारी अनुपस्थित रहेको पाइएको उहाँले बताए । त्यस्तै तीन जना ढिला आइपुगेको र १३ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको उनले जानकारी दिए ।

बिहान १० बजेदेखि तीनवटा टोली बनाएर जिल्लाका विभिन्न कार्यालयमा पुगेको टोलीले दसैँ बिदापछि कार्यालय खुलेको दोस्रो दिन भए पनि केही कार्यालय सुनसान रहेको जनाइएको छ । सरकारी नियमविपरीत चलिरहेका कार्यालय प्रमुख तथा कर्मचारीलाई छलफल गरेर आवश्यकतानुसारको कारबाही गर्ने निर्णय भएको उनको भनाइ छ ।

कार्यालय खुलेको पहिलो दिन जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाहेकका अधिकांश सरकारी कार्यालय सुनसान थिए । सरकारले दसैँ बिदा यही असोज १६ फूलपातीका दिनदेखि २३ गतेसम्म मात्र दिएको थियो ।