अविरल वर्षाका कारण ८ हजार बढी घरधुरी पीडित

काठमाडौँ । बाँकेमा अविरल वर्षाद्का कारण ८ हजार बढी घरधुरीमा बसोबास गर्ने जनता पीडित भएका छन् । जिल्लाका ८ स्थानीय तहका ८ हजार ७ सय ३ घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरुपमा पीडित हुन पुगेको बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिएका छन् ।

अधिकारी केसीका अनुसार सबैभन्दा धेरै राप्ती सोनारी गाउँपालिकामा ३ हजार ५ सय, नरैनापुर गाउँपालिकामा २ हजार ६ सय ९६, डुडुवा गाउँपालिकामा १ हजार ९ सय ५०, खजुरा गाउँपालिकामा २ सय ४९, नेपालगञ्ज उपमहानगरपालिकामा २ सय २०, बैजनाथ गाउँपालिकामा ५०, जानकी गाउँपालिकामा २० र कोहलपुर नगरपालिकामा १८ घरधुरी पीडित बनेका छन् ।

बाढी र डुबानबाट ८ स्थानीय तहका १ सय ८१ घरधुरीमा पूर्ण क्षति र ५ सय ९८ घरधुरीमा आंशिक क्षति हुनाका साथै १ हजार १ सय ४३ घरधुरी विस्थापित हुन पुगेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए । 

राप्ती नदीमा आएको बाढीका कारण राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाको तल्लो तटीय क्षेत्रका जनता डुबानमा परेका छन् । ८ स्थानीय तहका बाढी पीडित ३७ वडाबाट दुई हजार १ सय ३१ जनाको उद्धार गरिएको छ ।

राप्तीमा पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । टिकुलीपुर गाउँका मात्रै ४ सय ५० घरधुरीका मानिस विस्थापित भएको वडाध्यक्ष ज्ञानेन्द्र वलीले जानकारी दिए । बाढी पीडित स्थानीयवासीलाई जनकल्याण सामुदायिक भवनमा राखिएको छ ।