एमालेसँग मिलेपछि देउवाले गलहत्याए चार मन्त्रीलाई

काठमाडौं । सत्तामा लागि नेपालमा राजनीतिक नेतृत्वले जे पनि गर्न सक्छन् भन्ने पछिल्लो उदाहरण हो नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा गएका चार मन्त्रीलाई बिहीबार बर्खास्त गर्नु।

विगतमा एमालेको सरकार विरुद्ध आफूसँग सहकार्य गरेको जनता समाजवादी पार्टी यतिखेर निर्वाचनको मैदानमा एमालेसँग अंकमाल गर्न गएपछि देउवाले जसपाका मन्त्रीहरुलाई गलहत्याएका हुन् ।

प्रधानमन्त्री देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई हटाएका छन् ।

प्रधानमन्त्री देउवाले संविधानको धारा ७७ (२) को खण्ड (ख)बमोजिम पदमुक्त गरी यससम्बन्धी सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेका थिए। जसअनुसार राष्ट्रपति भण्डारीले रिक्त भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्तिमा जनाएका छन्।