नवौँ राष्ट्रिय खेलकुद : ४ सय मिटर दौडमा सोमबहादुर र रमिताको नयाँ कीर्तिमान

काठमाडौँ । एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपिएफ क्लबकी रमिताकुमारी थारुले नयाँ कीर्तिमान बनाएका छन् । केहीबेर अघि पोखरा रङ्गशालामा सम्पन्न खेलमा दुवैजनाले नयाँ कीर्तिमान बनाएका हुन् ।

आर्मी क्लबका कुमालले पुरुष ४ सय मिटर दौडमा नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् । कुमालले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । यसअघि कुमालका नाममा ४८.२० सेकेन्डको कीर्तिमान थियो । उक्त स्पर्धामा एपिएफका आशिष चौधरीले निर्धारित दूरी ४९.४० सेकेन्डमा पूरा गर्दै रजत पदक प्राप्त गरे । आर्मीकै प्रकाश दनुवारले ४९.९० सेकेन्डका साथ कास्य पदक पाए ।

यसैगरी महिला ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले नयाँ कीर्तिमानसँगै स्वर्ण पदक जितिन् । थारुले निर्धारित दूरी ५८.१० सेकेण्डमा पूरा गरिन् । यसअघि उक्त कीर्तिमान दिलमाया कार्कीको नाममा थियो । कार्कीका नाममा ५८.५० सेकेण्डको कीर्तिमान थियो । उक्त स्पर्धामा त्रिभुवन आर्मी क्लबकी निर्मला थापाले निर्धारित दूरी १ मिनेट ००.१४ सेकेण्डका साथ रजत तथा एपिएफ क्लबकी कल्पना श्रेष्ठले एक मिनेट ००.७० सेकेण्डका साथ कास्य पदक प्राप्त गरेकी छिन् ।