प्यारग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका थापालाई मानार्थ स्वर्ण पदक हस्तान्तरण

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुदमा खेलकै क्रममा दुर्घटनामा परेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्णपदक प्रदान गरिएको छ । थापाको असोज ३० गते प्याराग्लाइडिङ अन्तर्गत क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्दैगर्दा दुर्घटनामा परी मृत्यु भएको थियो । खेलकै क्रममा ज्यान गुमाएका उनलाई बिहीबार उनलाई मानार्थ स्वर्ण पदक हस्तान्तरण गरिएको हो ।

पोखरा रंगशालामा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले थापाको पदक उनका काका भेनिस थापालाई हस्तान्तरण गरे । विजेता बनेका खेलाडीलाई मन्त्री गहतराजले पोखरा रंगशालामा नै पदक हस्तान्तरण गरेका छन् । तर, विजयी खेलाडीलाई पदक गलामा नभई हातमा दिइएको छ । स्वर्गीय थापाप्रति सम्मान गर्दै पदक गलामा नलगाएको र हातमा दिइएको नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघले जनाएको छ ।

गोरखा स्थायी घर भई हाल पोखरा–१० बस्दै आएका थापा नेपाल आर्मीसँग करारमा अनुबन्ध भएर नवौं राष्ट्रिय खेलकुदमा सहभागी थिए ।

दुर्घटनापछि प्याराग्लाइडिङ प्रतियोगिता बिचमै रोकिएको थियो । त्यसैले तयारी खेलकै नतिजालाई आधार मानेर विजेता घोषित गरियो । जसमा गण्डकी प्रदेश र नेपाल आर्मीले समान ३ र ३ स्वर्ण पदक हात पारेका हुन् । निसिम सहभागी भएको विधामा आर्मीले रजत पदक जितेको छ ।

नवौं संस्करणका दौरान ज्यान गुमाउने थापाको सम्मानमा पोखरा रंगशालामा अर्धकदको शालिकसमेत बनाइने निर्णय गरिएको छ ।