गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा आज भएको भेटवार्ता उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी गराएको छ । भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुका साथै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरेका थिए ।

साथै उनले नेपालमा आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै नेपाल सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहितरूपमा सम्पन्न गर्न उच्च प्राथमिकता दिएको बताए ।

सो अवसरमा राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । साथै उनले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग रहने आश्वस्त पारेको थियो ।