पूर्वी नवलपरासीमा बस दुर्घटना, २३ जना घाइते

काठमाडौँ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका छन् । उक्त बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले जानकारी गराएका छन् ।

प्रहरी उपरीक्षक पाठककाअनुसार घाइते सुर्खेत वीरेन्द्रनगर–१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका–९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका–२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका– १३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो ।

घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले बताए ।