आज कुकुर तिहार मनाइँदै

काठमाडौँँ । तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।

तिहारको पहिलो दिन आइतबार कागलाई विभिन्न परिकार खुवाएर काग तिहार मनाइयो । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई यस्तो परिकार खुवाउने शास्त्रीय मान्यता छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा हो । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत यसलाई पुज्ने गरिन्छ ।

तिहारको चौथो दिन गोरुको पूजा गरिन्छ । तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाई मखमली र सयपत्रीको माला लगाइदिन्छन् ।