माओवादीको प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) ले आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । उनले केही नीतिगत र कार्यक्रमगतरुपमा प्रतिबद्धतापत्रमा स्पष्टसँग उल्लेख गरिएको जानकारी दिए ।

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको बताए ।

सोमबार चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक भएको कुरालाई ध्यानमा राखेर संविधान संशोधनमा जोड दिए। संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने उल्लेख छ। संसद मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने भनिएको छ।

प्रतिवद्धतापत्रमा प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने उल्लेख छ।

सुशासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुशरण गरी डिजिटाइज्ड सरकारी कार्यालयमार्फत भ्रष्टाचारमुक्त र मितव्ययी रूपमा सेवा प्रवाह हुने प्रशासन प्रणाली अवलम्बन गरिने प्रतिवद्धतापत्रमा भनिएको छ।