चार वर्षअघि काम सुरु भएको सडक अझै अलपत्र

काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प भएको छ । गण्डकी प्रदेश सरकारको प्रदेश राजधानीदेखि स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्र सडक निर्माण योजनाअन्तर्गतको सो सडकमा चार वर्षअघि काम सुरु भए पनि अहिले अलपत्र परेको छ ।

डेढ वर्षअघि नै सम्पन्न हुनुपर्ने सो सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण ढिलाइ भएको स्थानीयको भनाइ छ । सडकको काम लामो समयदेखि रोकिएको छ । सडकको नाला निर्माण भएर ‘बेस बिछ्याए’को लामो समय भए पनि कालोपत्रको काम सुरु भएको छैन ।

निर्माण कम्पनीले निर्धारित समयमा काम नगरेपछि स्थानीय आक्रोशित भएका छन् । समयमै सडक निर्माण सम्पन्न नहुँदा हिउँदमा धुलो र बर्खायाममा हिलो सडकमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता स्थानीयवासीको छ । लाहाचोकका स्थानीयवासीले सोमबार गाउँपालिका जोड्ने सडकको काम तत्कालै सुरु गर्न मागसहित गाउँपालिकामा ज्ञापनपत्रसमेत बुझाएका थिए । उनीहरूले ५ दिनभित्रमा काम सुरु नभए दोस्रो चरणको आन्दोलनमा उत्रिने बताएका छन् ।

स्थानीय साजन अधिकारीले गाउँपालिका जोड्ने सडक निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गर्दा जनताले दुःख पाएको बताए । उनका अनुसार अहिले सो सडकको सबै काम ठप्प छ । “हामीले सडक छिटो सम्पन्न गर्न पटक–पटक आवाज उठाएका छौँ, तर सुनुवाइ भएको छैन”, अधिकारीले भने, “गाउँपालिका आउजाउ गर्ने मुख्य सडक लामो समयदेखि अलपत्र पर्दा दुःख पाएका छौँ । गाउँपालिका र प्रदेश सरकारले दबाब दिनु पर्दछ भनेर पहिलो चरणमा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हौँ ।”

गण्डकी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालय कास्कीबाट १० करोड लगानीमा माछापुच्छेको प्रवेशद्धार मर्दीपुलबाट भिरकटेरा, बानेटाकुर हुँदै गाउँपालिकासम्मको पाँच किमी कालोपत्र सडक निर्माणका लागि हिमदुङ थोकर जिएसआर जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले सो सडकमा लामो समयदेखि काम रोकिएकाले तत्कालै सुरु गर्न निर्माण कम्पनी तथा प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए । गाउँपालिका जोड्ने सडकभन्दा पछि ठेक्का लगाएर सुरु गरेका दुई पक्की सडक दुई वर्षअघि नै सम्पन्न हुँदासमेत मुख्य सडकको काम ढिलाइ भएको लाहाचोक भिरकटेराका दीपक अधिकारीले बताए ।