राससको सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउनुपर्छ : डा अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले मिडियाको पनि मिडियाको रुपमा रहेको राष्ट्रिय समाचार समिति (रासस) को सेवालाई थप व्यावसायिक, गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताएका छन् ।

आज आयोजित ‘राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सेवा प्रवेश अभिमुखीकरण’ कार्यक्रममा सचिव डा अर्यालले रासस समाचार बनाउने ‘न्यूज मेकर’ संस्था भएकाले यसबाट प्रवाह हुने सेवा राष्ट्रिय जिम्मेवारी र दायित्वबोधलाई ध्यानमा राखेर पेशागत व्यवसायिकताका साथ क्रियाशील हुन कर्मचारी पत्रकारलाई आग्रह गरे । सचिव डा अर्यालले भने,“ अरु सञ्चार माध्यमको प्रकाशन, प्रशारण गर्ने आफ्नै ढाँचा र पद्दति होलान् तर राससको भूमिका भनेको समाचार बनाउने र सञ्चार माध्यमलाई उपलब्ध गराउने हो, विश्वका एपी, एएफीजस्ता समाचार समितिको भुमिकाजस्तै राससले पनि मिडियाको मिडियाको रुपमा काम गरिरहेको छ, त्यसैले राससले दिने सेवालाई अझ गुणस्तरीय, निष्पक्ष र विश्वसनीय तुल्याउन ध्यान दिनुपर्छ ।”

सचिव डा अर्यालले यसले उत्पादन गर्ने र प्रवाह गर्ने समाचार सामग्री विश्वसनीय र प्रमाणिकतामा आधारित हुन जरुरी रहेको भन्दै सत्य, तथ्य र निष्पक्ष समाचार उत्पादनतर्फ ध्यान दिन आग्रह गरे । “राससले पठाएका सबै समाचार विश्वसनीय हुन्छन्, तथ्यसँग नजिक हुन्छन् र यसले आमरुपमा समाजका, जनताका र विकास निर्माणका सबै कुरा समेटेका हुन्छन् भन्ने विश्वास दिलाउन सक्नुपर्छ र त्यो विश्वास अहिलेसम्म जीवित छ, त्यसलाई अझ बढी जीवन्त बनाउनेतर्फ रासस सक्रिय हुनेछ ।”

राससको समाचार सामग्रीमा भाषागत शुद्धता, प्रस्तुति शैली, विषयको छनोटजस्ता विषयमा सुधार गरी प्राप्त आँकडाको विश्लेषणात्मक ढङ्गले प्रस्तुत गरिनुपर्नेमा उनले जोड दिए । उनले आम नागरिकले खोजका समाचार सामग्री सरल र सहज रुपमा पाठकसमक्ष पु¥याउन राससको स्रोतसाधन र जनशक्तिको उपयोग गर्दै जनअपेक्षालाई ध्यानमा दिएर सेवा प्रवाहलाई प्रभावकारी बनाउन आग्रह समेत गरे ।