डिजिटल अनावरण गर्दै एमालेको घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारिएको घोषणापत्र आज सार्वजनिक गरेको छ ।

काठमाडौंस्थित होटल याक एन्ड यतीमा मंगलबार सो पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । समारोहमा  एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो दलले गर्ने काम कारबाहीका बारेमा जानकारी दिएको छ । 

घोषणापत्र सार्वजनिक गरेपछिको संवादमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छक्याउनका लागि पार्टीले घोषणापत्र अगाडि नल्याएको बताएका छन् ।

निर्वाचन अगाडि सबैले घोषणापत्र जारी गर्ने भए पनि एमालेको भने पृथक रहेको ओलीको भनाइ थियो । एमालेले ९६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले जारी गरेको घोषणापत्र यो जनतालाई अल्मल्याउन, छक्याउनका लागि होइन, यो देश विकासको मार्गचित्र हो, उनले भने, यो देश विकासको निम्ति एउटा संकल्प हो । देश विकासका निम्ति एउटा प्रतिबद्धता हो । एमाले देश विकास गर्ने पार्टी भएको घोषणापत्रले पनि सोही कुरा देखाएको ओलीको भनाइ छ ।

राजनीतिक स्थायित्वमा जोड दिएको सो पार्टीले मितव्ययी, पारदर्शी र जनउत्तरुदायी शासन व्यवस्था, राष्ट्रिय पूँजी निर्माण र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो घोषणापत्र केन्द्रित रहेको जनाएको छ । कुल २० हजार शब्द रहेको घोषणापत्रको अध्यक्ष ओलीले डिजिटल अनावरण गर्दै सार्वजनिक गरेको हो । सो घोषणापत्रमा एमालेले राष्ट्रिय हित स्वाधीनताको रक्षामा जोड दिएको छ ।

एमालेको २० ग्यारेन्टीमा के के छन् ?

१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने

२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने

३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने

४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने

५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने

६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने

७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने

८. ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने

९. सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क

१०. वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क

११. ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने

१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने

१३. ‘व्यवस्थित सहर ? स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने

१४. सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने

१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने

१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने

१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने

१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने

१९. ‘सभ्य समाज ? मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने

२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने