नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ । महोत्तरीको मटिहानीबाट भारतीय नक्कली नोटसहित भारतका दुईजना नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी बेनीपट्टी कटैया बस्ने वर्ष ३५ को सुनिलकुमार शास्त्री र सीतामढी चोरौत पूर्वी वडा नं.१ बस्ने वर्ष २४ को मनीषकुमार पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलले मटिहानी नगरपालिका वडा नं. ८ स्थित धानबजार चौकमा दुई जना भारतीय नागरिकहरू भारतीय नक्कली नोट बोकी सामान खरिद गर्न आएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर चेकजाँच गरेको बताए । ।

शंकास्पद अवस्थामा पक्राउ परेका दुवैजनालाई खानतलाशी गर्दा सुनिलकुमार शास्त्रीको साथबाट ३ हजार २ सय भारतीय नक्कली नोट, भिवो कम्पनीको मोबाइल र निजको आधार कार्ड फेला परेको र मनिषकुमार पासवानको साथबाट रेडमी कम्पनीको मोवाईल र निजको आधार कार्ड बरामद भएको प्रहरी नायव उपरीक्षक खरेलले बताए । शास्त्रीको साथबाट भारतीय रुपैया पाँच सयको नोट २ थान, दुई सयको नोट ५ थान, १ सयको नोट २ थान बरामद भएको हो ।

सूचनाको आधारमा तत्कालै प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरी टोलीले दुवैलाई नियन्त्रणमा लिएको बताउनुहुदै उनले दुबै जनाको महोत्तरी जिल्ला अदालतबाट सात दिने म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखेर मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा थप अनुसन्धान गरिरहेको बताएका छन् ।