निर्वाचनको समयमा नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति

काठमाडौँ । नेपालमा आगामी मंसिर ४ मा हुर्ने निर्वाचनका समय नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति भएको छ । भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का सीमा ७२ घण्टाका लागि सील गर्ने सहमति भएको हो ।

बिहारको रक्सौलमा बसेको दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकले आगामी निर्वाचनका लागि मङ्सिर २ देखि ४ गतेसम्म सीमा सील गर्ने सहमति गरेको छ ।

बैठकमा सूचना सम्प्रेषणमा प्रभावकारिता, अन्तर सीमा अपराध नियन्त्रण (जाली नोट र लागूऔषधको ओसारपसार, तस्करी, अन्य गैरकानूनी गतिविधि) मदिरा तस्करी नियन्त्रण लगायतका विषयमा एकापसमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल र समझदारी भएको छ ।

छ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकमा उपस्थिति भएको थियो ।

नेपाल भारत अन्तर जिल्ला सीमा समन्वय बैठकको प्रतिनिधिमण्डलमा नेपालका तर्फबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र भारतका जिल्लाका तर्फबाट पूर्वी चम्पारण जिल्ला अधिकारी सिरसत कपिल अशोकले नेतृत्व गरेको थियो ।