प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीद्वारा पुलिससामु १ सय ८९ रनको चुनौती

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ८९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले पुलिसलाई जितको लागि १ सय ८९ रनको चुनौती दिएको हो । लुम्बिनीले ४४.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८८ रनको योगफल बनाउन सफल भयो ।

लुम्बिनी प्रदेशका लागि कप्तान देव खनालले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ८८ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ७४ रनको योगदान गरेका हुन । त्यसैगरी विशालविक्रम केसीले ३० रनको योगदान दिए भने प्रज्वल थापाले २३ रन जोडे । दुर्गेस गुप्ता र मोहमद हुसेनले समान ११/११ रन जोड्दा कृष्ण कार्कीले नौ रनको योगदान गरे ।

बलिङतर्फ नेपाल पुलिस क्लबका दीपेन्द्रसिह ऐरी एक्लैले चार विकेट लिए भने करण केसी र सागर ढकालले समान दुई दुई विकेट झारे । त्यसैगरी गुल्सन झा र ललित राजवंशीले एक/एक विकेट लिए । पुलिस क्लब अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।