लोकतन्त्रको रक्षाका लागि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताएका छन् । आज पोखरामा नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक रहेको बताए ।

विचार नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गर्ने ओलीको आरोप थियो । गन्तव्य नभएकाले फरक–फरक घोषणापत्र बोकेर हिँडेको बताउँदै उनले उनीहरू जनतासँग झुटो आवश्वासन बाँढिरहेका बताएका छन् ।

नेकपा एमालेले बहुमतको सरकार बनाएर लिपुलेक लिम्पियाधुराको जमिन फिर्ता ल्याउन सकिने बताउदै उनले आफूहरूले देशलाई प्रगतिको बाटोमा लगेको समेत बताए ।

अध्यक्ष ओलीले देशमा सुदृढ राष्ट्रियशक्ति आवश्यक भएको र त्यो एमाले भएको दाबी समेत गरे । एमालेले घोषणापत्रमा २० वटा ग्यारेन्टी क्षेत्र तोकेको बताउँदै उनले राष्ट्रिय समृद्धिका र सुरक्षाका क्षेत्रमा सबै कुरा समेटिएको बताएका छन्।

नेकपा एमालेका सङ्गठन विभाग प्रमुख एवं कास्की निर्वाचन क्षेत्र नं १ का प्रदेशसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकीलाई पर्यटन, कला संस्कृतिको विकास गरी नमूना प्रदेशका रुपमा विकास गर्न सकिने बताए ।

पोखरालाई पर्यटनको राजधानी बनाउने बताउँदै उनले पोखरासहित समग्र गण्डकीको समृद्धि र विकासका लागि नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताए ।