८७ कम्पनी मार्जिन कारोबारका लागि योग्य

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको जानकारी दिएको छ । नेप्समा सूचीकृत कम्पनीमध्ये ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएको हो ।

‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत् तोकिएको मार्जिन राखेर शेयर खरिदबिक्री गर्ने कार्य हो । सामान्य अर्थमा पुँजीबजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको शेयर खरिद गर्न पाउने सुविधा नै मार्जिन कारोबार हो ।

सार्वजनिक सूचीअनुसार चालू आर्थिक वर्षका लागि मार्जिन कारोबार गर्न पाउने कम्पनीमा १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, १० वटा बीमा कम्पनी र २९ वटा लघुवित्त कम्पनी रहेको छ ।

त्यस्तै तारागाउँ होटल रिजेन्सी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडले पनि मार्जिन कारोबारको सुविधा पाउनेछन् ।

धितोपत्रको मार्जिन कारोबार गर्ने अनुमति पाएका दलाल व्यवसायीले मात्रै मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्छन् । नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ ।