विमानमै अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक

काठमाडौँ । नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ । पाइलट लामालाई उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको निगमले आरोप लगाएको छ ।

वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो ।

विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताएका छन् ।

‘उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई ग्राउन्डेड गरिएको हो,’ निगमको अपरेसन विभागले जारी गरेको कारबाहीपत्रमा लेखिएको छ ।

निगमले ग्राउडेड गरेपछि पाइलट लामा मलेसियामा भइरहेको जल उद्धार तालिममा सहभागी हुन पाएनन् भने हाल उनलाई उडान रोस्टरमा पनि राखिएको छैन । लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए ।

उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व महानिर्देशकबाट अनुमति लिनुपर्ने प्राधिकरणको नियममा छ ।