डब्लुपिएलमा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्डमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुगेकी छन् ।

यही ८ देखि १० नोभेम्बर २०२२ मा आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुगेको डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । उक्त फोरम डब्लुपिएल, आइसल्यान्ड सरकार र आइसल्यान्ड संसद्द्वारा आयोजना गरिएको हो ।

राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार महापाल राजदूत एस्ट्रिड ब्रेक्कन र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत गरेको छ ।

यसअघि राष्ट्रपतिलाई दोहा विमानस्थलमा कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकाल तथा अन्य अधिकारीहरुका साथै कतारको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीहरुले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले आज अपराह्न रेक्जाभिक ग्लोबल फोरममा सम्बोधन गर्ने र डब्ल्युपिएल ट्रेलब्लेजर अवार्ड–२०२२ ग्रहण गर्ने कार्यक्रम रहेको सो विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । भण्डारी भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कने कार्यक्रम छ ।