तिब्बत्सँग सिमानामा रहेको कोरला सडकको तीन खण्ड अलपत्र

काठमाडौँ । मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीन वटा खण्ड अलपत्र परेको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिक चीनको स्वशासित क्षेत्र तिब्बत्सँग सिमानामा रहेको कोरला नाका जोड्ने सडक अलपत्र पार्ने निर्माण कम्पनीसँग ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको आयोजनाले जानकारी दिएको छ ।

आयोजना प्रमुख जगत प्रजापतिले खन्ति–जोमसोम, जोमसोम–कागबेनी र चराङ–छोसेर खण्डमा सडक निर्माणको जिम्मा लिएका कम्पनीसँगको ठेक्का तोड्न यही कात्तिक २२ गते पहिलो पटक सार्वजनिक सूचना जारी गरिएको बताए । “पटक–पटक ताकेता गरेपनि निर्माणको काम अघि नबढाएकाले ठेक्का तोड्न प्रक्रिया थालेका हौँ, दोस्रो पटक पनि सूचना जारी गर्छौ,” उनले भने । “कार्ययोजनासहित सम्पर्कमा नआए ठोक्का तोडेर, कालोसूचीमा राख्ने र नयाँ प्रक्र्रियाबाट निर्माण अघि बढाउँछौँ ।”

चराङ–छोसेर र कोवाङ–जोमसोम सडक निर्माण गर्न कोसी एण्ड न्यौपाने जेभीले ठेक्का पाएको थियो । विसं २०७३ असोजमा करसहित २६ करोड मा ठेक्का सम्झौता भएको २५ किलोमिटर दूरीको चराङ–छोसेर सडक ११ मिटर फराकिलो पारेर पर्खाल, नाली र ग्राभेल गर्ने काम विसं २०७५ पुसमा सकिनुपर्ने थियो । यो खण्डमा विसं २०७६ देखि ठेकेदारले काम गरेका छैनन् ।

अठार किलोमिटर दूरीको खन्ति–जोमसोमखण्ड कालोपत्र गर्न विसं २०७४ जेठमा ६२ करोड २ लाखमा सम्झौता भएको थियो । विसं २०७६ जेठमा सकिनुपर्नेमा ६० प्रतिशत भौतिक प्रगति भएको यो खण्डमा पनि पछिल्लो तीन वर्षयता अपेक्षाकृत गतिमा काम भएको छैन । रु १७ करोड भुक्तानी लगेको र ९ करोड बराबरको काम गर्न बाँकी यो सडकको भौतिक प्रगति ६५ प्रतिशत भएको छ ।

जोमसोम कागबेनी १३ किमी कालोपत्र सडकलगायत संरचना निर्माण गर्न आयोजनाले रौटाहा/आत्रेय/सारस जेभी काठमाडौँसँग २०७८ असोज ४ गते रु २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।