पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री नभएका ८ लाख ६ हजार ३ सय ९० सहित कूल ५६ लाख ६ हजार ३ सय ९० कित्ता साधारण शेयर प्रतिशेयर १ सय अङ्कित दरमा निष्काशन गर्न लागेको हो ।

सार्वजनिक आह्वान पत्रानुसार निष्कासित शेयरमध्ये १ लाख ६८ हजार १ सय ९० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारी र २ लाख ८० हजार ३ सय २० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ५१ लाख ५७ हजार ८ सय ८० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिने उल्लेख गरेको छ ।

सर्वसाधारणलाई बिक्री गरिने शेयरमा लगानीकर्ताले यही कात्तिक २९ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी मङ्सिर ९ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो शेयरको वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सकिनेछ ।