प्रकाशमानको घरदैलो अभियानमा बाबुराम भोट माग्दै

काठमाडौँ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने दाबी गरेका छन् ।

शुक्रवार नेता सिंहको घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । उनले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरुलाई काठमाण्डौ १ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताए । गठबन्धनमा साझा उम्मेदवारहरुले आउँदो चुनाव जितेको खण्डमा मात्रै संविधानको रक्षा र प्रतिगमनकारीलाई रोक्न सकिने भएकाले प्रकाशमान लगायत गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न उनले आग्रह समेत गरे ।

आफूले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको उल्लेख गर्दै गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने अध्यक्ष भट्टराईले दाबी गरे । उले भे, ‘अहिलेको निर्वाचन विशिष्ट छ । सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा दलहरुको प्रतिष्पर्धा हुन्छ । तर अहिले हामीले निर्माण गरेको, संघर्ष गरेर ल्याएको जुन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान छ, त्यसमाथि नै प्रहार भएको हुनाले प्रतिगमनकारी शक्तिहरुका बिरुद्ध अग्रगमनकारी हामी शक्तिहरुको गठबन्धन हो ।

त्यसअर्थमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्तित्त्व हुनुहुन्छ । व्यक्तिगत रुपमा पनि उहाँ स्वच्छ हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ । हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुन्छ । यसमा टेकेर सुशासन समृद्धि हुनसक्छ । त्यसैले उहाँको पक्षमा मतदान गर्न म आग्रह गर्दछु ।’