देउवा र म मिलेपछि नहुने केही छैन : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि विकास निर्माणलगायत काम गर्न बताएका छन्।

गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आज भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले उत्तरी गोरखाको विकासका काम प्राथमिकतामा रहेको बताए। उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मंसिर ४ को चुनावमा मत दिएर जिताउन पनि आग्रह गरेका छन् ।

‘राजेन्द्रलाई केन्द्रमा र नन्दुलाई प्रदेशमा मन्त्री बनाएर विकास निर्माणको काम गर्न जिम्मेवारी दिइनेछ,’ प्रचण्डले भने, ‘उहाँहरूलाई मन्त्री बनाउन म देउवासँग प्रस्ताव राख्छु। अहिले नेपालमा प्रचण्ड र देउवा मिलेपछि नहुने केही छैन।’

‘गोरखा १ को प्रतिनिधि सभामा कांग्रेसका नेता राजेन्द्र बजगाईं र प्रदेश सभा (ख) मा कांग्रेसकै नेता नन्दप्रसाद न्यौपानेलाई जिताउन म आग्रह गदै प्रचण्डले भने, ‘बजगाईंलाई केन्द्रमा र न्यौपानेलाई प्रदेशमा मन्त्री बनाउन म पहल गर्छु।’ उनले आफू र देउवाबीच कुराकानी भएपछि केन्द्र र प्रदेशमा गोरखाका सांसदलाई मन्त्री बनाउन सकिने बताएका छन्।