रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजी गर्नुपर्ने माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजी गर्नुपर्ने माग गरेको छ । लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रेहेका छन् । उनले नेपालको नागरिकता त्याग नगरेका कारण उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै मंगलबार उजुरी परेको हो ।

उम्मेदवार लामिछानेविरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । उक्त उजुरी चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालयलाई कारबाहीका लागि गइसकेको छ ।

लामिछानेले बुधबार बिहानसम्म आफूलाई उजुरीबारे औपचारिक जानकारी नभएको उल्लेख गरेका छन् । पत्र आएपछि जवाफ दिने उनले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत जानकारी गराएका छन् । लामिछानेले नागरिकताको विवाद सन् २०१८ मा नै सल्टिएको दाबी गरेका छन् । सोही आधारमा आफूले आत्महत्या दुरुत्साहनको मुद्दामा सफाइ पाएको पनि उनको अर्को दाबी छ ।

नेपालको प्रचलित नागरिकतासम्बन्धी कानुनहरूलाई हेर्दा उम्मेदवार लामिछानेमाथि केही प्रश्न उठेका छन् । लामिछानेले नागरिकता विवाद सल्टाएको दाबी गरे पनि त्यो विवाद कसरी सल्टिएकोबारे केही उल्लेख गरेका छैनन् ।