सानो बुद्ध भन्ने रामबहादुरको आश्रममा प्रहरीको छापा

काठमाडौं,२० पुस । आफूलाई ‘लिटिल बुद्ध’ को रुपमा चिनाउँदै आएका बाराका रामबहादुर बमजनको सिन्धुपाल्चोकको बाढेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ ।
उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी सुरु गरेको हो ।
प्रहरीको अनुसन्धान टोलीले शुक्रबार आश्रम प्रवेश गरि सोधपुछ र आवश्यक अनुसन्धान सुरु गरेको हो । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले सिन्धुपाल्चोकबाट अनुसन्धान सुरु भएको बताए । उनले फरेन्सीक टिम र विज्ञ सहितको टोली खटाएर हराएका ब्यक्तिको खोजी सुरु भएको बताए ।

सिआईबीसहितको प्रहरी टोली फिल्डमा परिचालन गर्ने जिम्मा सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले पाएका छन् ।
बमजन आश्रमको खानतलासी गर्न सिन्धुपाल्चोक जिल्ला अदालतबाट प्रहरीले बिहिबार नै अनुमति लिइसकेको थियो ।
पछिल्ला केही दिनदेखि कानुनी प्रकृया मिलाउने र बमजनविरूद्धको कारबाही अगाडि बढाउने योजनाको नेतृत्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरिरहेका छन् ।
खनालले उक्त कामका लागि सिआईबी प्रमुख निरज शाही, मकवानपुरका एसपी बुद्धि गुरूङ र सिन्धुपाल्चोकका एसपी मरासिनीलाई परिचालन गरेका थिए ।
मकवानपुरका सन्चलाल वाईबा र फुलमाया रुम्बा सिन्धुपाल्चोक आश्रमबाट हराएको निवेदन प्रहरीमा परेको हो ।