सरकारप्रति जनताको अविश्वास बढ्दै गएको आरोप

काठमाडौँ, २१ पुस । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारमाथि जनताको अविश्वास बढ्दै गएको बताएका छन् ।
नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको त्रिचालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले दुई तिहाइको सरकारले संविधानको भावनाबमोजिम काम नगरेकाले जनताको अविश्वास बढ्दै गएको बताए ।
केपी शर्मा ओली नेतृत्वको सरकारले बहुमतकोे बलमा अदालतमा विचाराधिन मुद्दाका आरोपी रेशम चौधरीलाई शपथ खुवाएको र वाइडबडी जाहाज किनबेचमा भएको घोटलालाई पनि ओझेलमा पार्न खोजेको नेता सिंहले आरोप लगाएका थिए । उनले राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलित राखेर अगाडि बढ्न बिपी कोइराला र गणेशमान सिंहले राष्ट्रिय मेलमिलापको नीति लिएर अगाडि बढेको धारणा व्यक्त गरेका थिए ।
काठमाडौं महानगरपालिकाका वडा नं २६ का अध्यक्ष समेत रहेका ख्याम तिवारीले सबै मिलेर काठमाडौँ काङ्ग्रेसको सङ्गठन निर्माणमा लाग्नुपर्ने बताए । आठवर्ष लामो निर्वासन पछि विसं २०३३ पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहलगायत नेताले भारतबाट मेलमिलापको नीति लिएर आएको स्मरणमा हरेक वर्ष काङ्ग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आइरहेको छ ।