काठमाडौँ १ मा प्रकाशमानसिंह विजयी

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहलाई ठमेलस्थित निवासमा मङ्गलबार शुभेच्छुकहरुले बधाई तथा शुभकामना दिएका छन् ।

सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गरेको हो ।  सिंहले ७ हजार १ सय ४० मत ल्याएका छन् । साथै, मिश्रले ७ हजार ११ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सिंहले मिश्रलाई नै पराजित गरेको थियो । तत्कालीन समयमा कांग्रेसका सिंहले १० हजार ९ सय ३६ मत प्राप्त गरेका थिए भने विवेकशिल साझा पार्टीका उम्मेदवार मिश्रले १० हजार १ सय १८ मत प्राप्त गरेका थिए ।  

सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी भएका छन् । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन् । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गर्नुभएका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिकेको छ । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री समेत भएका थिए ।