यसरी समातिए ५ जना हुण्डी कारोबारी

जनकपुरधाम, पुस । प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाममा करिब ८४ लाख रकमसहित पाँचजना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

आइतवार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ स्थित किशोरीनगरबाट प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विहार मधुवनी जिल्ला घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ बस्दै आएका ४० वर्षीय सन्तोष महतो, वडा नम्बर ९ वैगा शिवपुर बस्ने ४३ वर्षीय विजय यादव, वडा नम्बर ११ का पप्पु कुमार दास, ५० वर्षीय सुरज ठाकुर, ४० वर्षीय नरेश महतो रहेको प्रहरी स्रोतले जनाएको छ ।

गोप्य सूचनाको आधारमा पक्राउ गरिएका उनीहरुलाई आइतवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । उनीहरुको साथबाट ८३ लाख ६२ हजार नेपाली रुपैयाँ तथा ६ हजार ६ सय भारतीय रुपैयाँ तथा विभिन्न बैंकका चेकबुक तथा अन्य कागजपत्रहरु बरामद भएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । पक्राउ परेकाहरुलाई बैंक तथा वित्तीय सम्बन्धी ऐन २०७३ अनुसार अनुसन्धान भइरहेको थपलियाले बताए ।